विपन्न र असहायहरुको सहयोगका लागि यसरी दौडन्छ धरान


धरान रन धरानको पहिचान भइसकेको छ, अरुले पनि रन च्यारिटी थालेका छन्
सुम्निमा चाम्लिङ२०७४ चैत ४ गते १७:३८

हाम्रो पहिलो सन्तान नेवा वेलायतमा जन्मिइन् । उनी जन्मँदा मेरो परिवारको खुसी र उमंगको कुनै सिमा थिएन । खुसी नै खुसी बीच छोरी नेवा पाँच महिनाकी भइन् । तर, छोरी अकस्मात विरामी भइन् ।
जचाउन लगियो । छोरीलाई हाईड्रोक्याफलस अर्थात टाउकोमा पानी जम्ने रोग भएको देखियो । यो जटिल रोग भन्ने थाहा पाएपछि मेरो होसहवास उड्यो ।

बेलायतको एक च्यारिटी वाल अस्पतालमा छोरीको उपचार गरायौ । उपचारको क्रममा कैयौैं पटक ठूलो शल्यक्रिया गर्नुपर्यो । विदेशको ठाउँ । भर्खर जागिर पाएको थिएँ । नेपालबाट परिवार पनि त्यही समयमा ल्याएको थिएँ ।

छोरीको स्वास्थ्यमा बिस्तारै सुधार हुँदै आयोे । छोरी दुई वर्ष पुगिन् । च्यारिटी अस्पतालले खर्च जुटाउन दौड आयोजना गर्दो रहेछ । मैले पनि च्यारिटी फन्डका लागि १० किलोमिटर दौडने निधो गरें । त्यसबेला म निकै मोटो थिएँ । व्यायाम केहि गर्दिनथें । दौडनलाई मैले तालिम लिएँ । तालिमपछि पहिलो पल्ट दौडँदा रमाइलो लाग्यो । त्यसपछि दैनिक दौडन थालें, दौडँदा स्वस्थ्य भएको महशुश गरें ।

एकदिन म काम गर्ने ठाउँका एक साथीले मलाइ बेलायतमै पार्क रनमा प्रत्येक हप्ताको शनिबार पाँच सय मिटर दौड हुन्छ भन्ने जानकारी गराए । सो पार्कमा थुप्रै मानिस जम्मा हुँदा रहेछन् दौडका लागि । म पनि पार्क रनमा प्रत्येक शनिबार सहभागी हुन थालें । झरी परोस वा हिउँ कहिल्यै दौड छुटाइन । जब पार्क रनमा दौडन थालें तब मैले दौडनुको फाइदा थाहा पाएँ । अझ भनौ स्वस्थ्य जीवनका लागि दौडको महत्व बुझें । त्यसपछी त झन् दौडलाई नितरन्ता दिए ।


एक दिनको सहयोगले के हुन्छ ?

दुई वर्षमा छोरीको स्वास्थ्यमा निकै सुधार आयो । छोरी स्वस्थ्य भएसँगै परिवार सँग नेपाल आयौं । छोरीको नाममा विभिन्न ठाउँमा दान, चन्दा दियौं । आफूले गरेको थोरै सहयोगले अरुको ओठमा हासो देख्दा साँच्चै खुसी लाग्दो रहेछ ।

नेपालबाट बेलायत फर्कने बेला मनमा एउटा विचार आयो । मेरो समाजमा मैले एकदिन दिएको सहयोगले सधैं पुग्दैन । अब कसरी दुखी असहायहरुलाई सहयोग गर्न सकिएला भन्ने विचार आयो । अब त्यसो हो भने च्यारीटी खोल्नुपर्छ भन्ने निर्णय गरें ।

सम्बन्धित मानिसलाई सहयोग गर्नु त छँदैछ त्यो भन्दा पनि मुख्य कुरा मानिसलाई स्वस्थ्य बनाउन चाहीँ के गर्न सकिएला भनेर हजार पल्ट सोच्ने गर्थें । वेलायतमा च्यारिटी फण्डका लागि ठूलाठूला दौड इभेन्ट हुने गरेको देखेको थिएँ । दौडन आएकाहरुले दिएको रकमले असहायहरुलाई सहयोग गरिन्छ । विदेशमा देखेको राम्रो काम नेपालमा अनुकरण गर्नुपर्छ भन्ने लाग्यो ।

अब धरान दौडन्छ

सुरुमा मैले धरान रनको योजना बनाएँ । आफैंलाई कैयौ पटक प्रश्न गरें । कसरी गर्ने भन्ने उपाय खोजें । प्रत्येक दिन यसबारे सोचिरहन्थें । मैले सुरुमा परिवारलाई योजना सुनाएँ । परिवारले खासै चासो दिएन ।

मैले सोही कुरा नेपालमा रहेका भाइ मनिष तामाङलाई सुनाएँ । उनले योजना राम्रो छ, सकेको सहयोग गर्छु भन्दा अलि आँट आयो । उनलाई नै धरान रन समूह निर्माणका लागि टिम बनाउन अनुरोध गरें । वेलायतबाट मैले सक्दो प्रयास गरिरहेको थिएँ ।

बेलायतमा प्रवासी नेपालीहरुको साझा संस्था धरान युके समाज छ । म सो संस्थाको सदस्य हो । सदस्य भएको नाताले संस्थाबाट पनि सहयोगको अपेक्षा गरेको थिएँ । त्यसैले संस्थाको बैठक धरान रनबारे सुनाएँ । मेरो कुरालाई एकदुई जना बाहेक अरुले हासोमा उडाए ।

नेपालमा च्यारिटी फण्ड संकलनका लागि दौड आयोजना गर्ने मान्छे जन्मिएकै छैन सम्म भने । धरान रन सुरु गर्न एउटा ल्यापटप, एउटा मल्टी फंक्सन घडी मात्र उपलब्ध गराइदिनुहोस भन्दा पनि सहयोग भएन । तर अलिकति पनि हार खाईनँ । जसरी पनि गर्नुपर्छ भन्ने मनमा थियो ।

बेलायतमा देखेको पार्क रन नेपालमा भित्राउनु मेरो लागि ठूलो चुनौती बन्यो । यसरी गर्दा हुन्छ कि त्यसरी गर्दा हुन्छ भनेर मनमा सधै छटपटी हुन्थ्योे । नेपालमा स्वस्थ्य रहनका लागि र फण्डका लागि दौडने भन्ने सोच आईसकेको छैन । यसबारे बुझाउन त्यति सहज थिएन ।

धरानमा त दौडने भन्ने बितिकै लाहुरे बन्नका लागि मात्र हो भन्ने मानसिकता थियो । तर पनि हरेस खाईनँ । मनिषले मेरो योजना अनुसार धरनमा समूह खडा गरेको थियो । समूह तयार भएपछि म नेपाल आएँ । २०११ मा धरान रन समूह दर्ता गर्यौ । रनले स्वस्थ्य रहन पे्ररित गर्ने र च्यारिटीबाट उठेको रकमले बालबालिको शिक्षा र स्वास्थ्यका लागि काम गर्ने उद्देश्य राख्यौं ।

पहिलो दौड

दर्ता पछी दौडन सुरुमा २३ जनालाई अनुरोध गरेयौं । दौडनका लागि दर्ता सिष्टम बनायौं । दौडका लागि रुट तयार गर्यौं । २०११ मे १३ तारिख शनिबार पहिलोपल्ट धरान रन सुरु भयो ।

दोस्रो हप्ताबाट हामीले नेवा च्यारीटी पनि सुरु गर्यौं । च्यारिटीका लागि भनेर बेलायतबाट केहि लुगा ल्याएका थियौं । त्यहि सामान बेचेर भएपनि च्यारिटी गर्ने योजना बनायौं ।

धरान रन सुरु भएको दोस्रो हप्ता म बेलायत फर्कें । तर मेरो समूले यस्लाई निरन्तरता दियो । स्वयंसेवक र दौडनका लागि सहभागीहरु पनि आउन थाले । कहिले घटि कहिले बढि हुँदै निरन्तर शनिवार दौड चल्दै गयो । विस्तारै सहभागी बढ्दै गए ।

साथी लोक लिम्बु र मनिष भाईले धरान रनलाई निरन्तरता दिन ठूलो योगदान गरे । हाम्रो एउटा सपना थियो । धरान रन भनेर चिनाउन लागि वर्षमा एकपल्ट पूर्वाञ्चलव्यापी दौड प्रतियोगिता गराउने योजना थियो । छोरीको नाम अनुसार हामीले नेवा च्यारिटी ८ के रनको भिजन बनायौं । पहिलोपल्ट २०१३ मा नेवा च्यारिटी ८ के रन सुरु गर्यौं ।

यसरी च्यारीटी गरिहदा थुप्रै ठाउँबाट समस्याबारे जानकारी गराउँथे, च्यारिटीसँग सहयोग माग्थे ।

हामीले सुरुमा औपचारिक रुपमा अशक्त महिला साहित्यकार लक्ष्मी राईको सहयोगका लागि च्यारिटी गर्ने भयौं । लक्ष्मी राईको नाममा अक्षय कोष खडा गर्यौं । पत्रकार निलिफा सुब्बाले लक्ष्मी राईको बारेमा जानकारी गराउनुभएको थियो ।

धरान रनलाई यहा सम्म ल्याउन निकै मुस्किल पर्यो । हेर्दा जति राम्रो र सहज देखिन्छ गर्नलाई निकै गाह्रो छ । हुनत कार्यक्रम सिष्टममा गएको छ । एकातिर प्राविधिक समस्या छँदैछ । स्पन्सर खोज्ने कि कार्यक्रम राम्रो बनाउने भन्ने समस्या छ । चुनौती यतिसम्म छ कि हामी बताउन सक्दैनौ ।

अहिले सम्म पनि हाम्रो दौडमा गरि दौडनका लागि टिकट किनेको भन्नेहरु छन् । त्यसो भनेर बुझ्नेहरु छन् । दौड आयोजना गर्दा नगरपालिका, प्रहरी प्रशाशनको उत्तिकै सहयोग चाहिन्छ ।

यसपल्ट धरान रन ८ के नेवा च्यारीटीमा दुई हजार पाँच सय धावक धाविका सहभागी थिए । सोही कार्यक्रमका लागि विभिन्न संस्थाबाट तीन सयभन्दा धेरैजना स्वयंवसेवक आए । धरान रनमा प्रत्येक हप्ताको शनिबार तीन सय देखि पाँच सयको हाराहारीमा सहभागी हुन्छन् ।

प्रत्येक हप्ता १० देखि १५ जना नयाँ सदस्यहरु पनि थपिन्छन् । धरान रनले आफ्नो वार्षिक इभेन्टमा खेलकुद क्षेत्रमा योगदान पुर्याउने खेलाडीहरुलाई वर्षेनी सम्मान समेत गर्ने गरेको छ । बैकुण्ठ मानन्धर, राजुकाजी शाक्य, हरिबहादुर रोकाया, महेन्द्रबहादुर राई जस्ता विशिष्ट खेलाडीहरु सम्मानित भईसकेका छन् ।

धरान उपमहानगरपालिकाले विगत तीन वर्षदेखि केही रकम दिइरहेको छ । परिवार, साथीभाई, धरान रन समूह परिवार, देश विदेशमा रहनुहुने सबैले सहयोग गर्नुभएको छ । धरान रन सुरु भएको केही समयपछी भोजपुर रन, पोखरामा बि १३ रन साथै झापामा दमक रन सुरु भएको छ । विस्तारै नेपालमा पनि चिनिन थालेको छौं ।

म आफै म्याराथन धावक बनेको छु, दैनिक तालिम र अभ्याश गर्छु । मलाई अहिले परिवारबाट पुरा सहयोग मिलेको छ ।

अहिले छोरी नेवा ११ वर्षकी भईन् । उनि अहिले स्वस्थ्य छिन् । उनी पनि धाविका भएकी छिन् ।

( धरान रनका संस्थापक सन्तोष राईसँगको वार्तामा आधारित )